तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौंः मेयर आचार्य

-


     क्लिक गण्डकी     
     जेठ २५ गते २०७९ मा प्रकाशित


तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौंः मेयर आचार्य

तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौंः मेयर आचार्य

पोखरा, २५ जेठ/ पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम सुरुवात गर्नु बसपार्क निर्माणकै काम सुरु भएको बताए । उनले प्रदेश सरकारले थालेपनि पोखरा महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । उनले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रुपमा विकास गर्ने दृढता व्यक्त गरेका छन् । जुनबेला बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो, त्यसबेला बसपार्कको रुपमा निर्माण गर्ने भनिएपनि अब ठूलो बसपार्क भने पोखरा ३३ लामेआहालमा बन्ने उनले बताए । उनले पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई समेत सिटी बसपार्ककै रुपमा विकास गर्ने जानकारी दिएका छन् ।

गएको १० वर्षमा पोखराको जनसंख्या बढेर दोब्बर भएको उल्लेख गर्दै अहिले पाँच लाख भन्दा धेरै जनसंख्या पोखरा बस्ने गरेको र पोखरा आउजाउ गर्नेसहित गरेर २० लाखको संख्या रहेको उनले बताए । यही अवस्थालाई मध्येनजर गरेर कम्तिमा पनि २० वर्षलाई हेरेर पूर्वाधार बनाउनुपर्ने उनको भनाई छ । पोखरामा अब तीन वटा व्यवस्थित बसपार्क आवश्यक रहेकोमा उनले जोड दिए ।

निर्वाचनका बेला गरिएको बाचा अनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविँडी र धोलागिरि बाट प्रवेश गर्ने वित्तिकै पोखरा महसुस गर्नेगरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने उनको दाबी छ । उनले पोखरा बसपार्कमा देखिएका सबै समस्यालाई हल गरेर बसपार्क निर्माण गरिने भन्दै कसैलाई पनि अन्याय हुन्छ कि भनेर नसोच्न समेत आग्रह गरे । ‘यहाँ केही जग्गाका समस्याहरु छन् । अरु अन्य केही समस्याहरुपनि छन् । ति सबै समस्याको समाधान गरेर हामी तीन वर्षभित्र आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं । कसैले अन्याय हुन्छकी भनेर सोच्न जरुरी छैन । पोखरा निर्माणका लागि सबै सकारात्मक बनौं र योगदान दिउँ’ उनले भने ।

आफूरु जनताको सेवक भएकाले विकास निर्माणमा सहकार्य गर्न उनले स्थानीयलाई आग्रह गरे । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धता समेत जनाए ।
आफूले सपथ लिएको ९ दिन भएको भन्दै उनले दिन गनेर काम गर्ने समेत दोहो¥याएका छन् । तर, आजै भएन अहिले नै भएन भनेर भन्नु भन्दापनि त्यसका लागि केही समय पर्खन उनको आग्रह थियो । विगतमा तीन वटा सरकारका बीचमा समन्वय नभएपनि अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय तह बीच समन्वय भएरै काम हुने उनले बताए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले निर्वाचनका बेला बसपर्कबाट नै काम सुरुवात गर्ने प्रतिवद्धता जनाए बमोजिम काम सुरु गरेको बताए । ‘अहिले नाला निर्माणको काम सुरु भएको छ । यसलाई नाला निर्माणको सुरु मात्र नभन्नुहोला । मेयर सावले पनि निर्वाचनका क्रममा भनिसक्नुभएको छ । यो बसपार्क हामी तीन वर्षभित्र कम्प्लिट बनाइसक्छौं । अरु बसपार्क पनि बनाउँछौं उनले भने ।

कार्यक्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अधयक्ष कमलबहादुर श्रेष्ठ लगायतले उक्त अवसरमा बोलेका थिए । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा आएको छ ।

झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।