गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र पर्यटनमा जोड
पोखरा, २४ जेठ/ गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड दिदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार पहिलो प्रथामिकतामा स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने बताए ।
प्रदेश प्रमुख गुरुङले प्रदेशमै मुटुरोग अस्पताल स्थापना गर्ने उल्लेख गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिने उल्लेख छ । त्यस गरी प्रदेश भित्रका नागरिकको मिर्गौला नियमित डायलसिस गर्न हाल सेवा दिइरहेका अस्पतालहरुको क्षमता बिस्तार गर्ने, गोरखा जिल्ला अस्पताल, लमजुङ जिल्ला अस्पताल र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला डायलसिस सेवा बिस्तार गर्ने जनाएको छ ।
प्रदेश सरकारले स्पाइरल ईञ्जुरी तथा बौद्धिक अपाङता भएका व्यक्तिहरुको सहज जीवनयापन र पुर्नस्थापनाका लागि ह्वीलचेयर, कृतिम हातखुट्टा लगायतका सहायक सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारले ज्येष्ठ नागरकिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न ‘प्रदेश सरकारसँग बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
मानव सेवा आश्रम तथा वृद्धाश्रमहरुमा आश्रित दीर्घ रोग लागेका विरामीले सेवन गर्ने औषधी निःशुल्क उपलब्ध गराउने भएको छ । गण्डकी सरकारले विरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने भएको छ । अघिल्लो वर्ष देखी शुरु भएको यस कार्यक्रम अहिले नीति तथा कार्यक्रममै समेटेको छ ।
त्यस्तै, प्रदेशमा जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ । गण्डकी प्रदेश सरकारले सुन्तला जातको खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । गण्डकी प्रदेश सुन्तला जातको फलफुलको उच्च सम्भावना भएको प्रदेश रहेको भन्दै यस्लाई सुन्तलाकोे पकेट प्रदेशका रुपमा विकास गर्ने कार्यक्रम सरकारले ल्याएको उनले बताए । गण्डकी प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम शुरु गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
प्रदेशका प्रमुख पर्यटकी क्षेत्रमा पत्रमार्गको राम्रो व्यवस्था, होमस्टेको सुधार, गण्डकी टेल निमार्ण गर्ने, कालिगण्डकी जलयातायात संचालन गर्ने लगाएताका कार्यक्रमहरु अघि सार्ने रहेका छन् । अधिकांश कार्यक्रमहरू गत वर्षकै नीति तथा कार्यक्रममा समेटिएको र अहिले पनि त्यसैलाई निरन्तरता दिएको पाइएको छ । पर्यटन, कृषि, सहकारी तथा युवा रोजरगारको राम्रो नारा दिइएको नीति तथा कार्यक्रमले यस वर्ष नतिजा दिने विश्वास प्रदेश सरकारको छ ।