प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छः मेयर आचार्य
पोखरा, २० जेठ/ पोखराको लामे आहालमा बन्ने प्रादेशिक बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजिकरण र सहकार्य गर्ने भएको छ । महानगरका मेयर धनराज आचार्यले स्थानीयका समस्या समाधान गर्दै छिट्टोभन्दा छिटो वसपार्क निर्माणका लागि सहजिकरण गर्दै अग्रसर हुने जानकारी दिए ।
बिहीबार पोखरा महानगरको वडा नम्बर ३२ पर्ने लामे आहालमा प्रस्तावित बसपार्कको निरीक्षण गर्दै उनले यस्तो जानकारी दिएका हुन् । पोखराको ट्राफिक व्यवस्थापन सहज बनाउन र सहरलाई व्यवस्थित बनाउनका लागि पनि बसपार्क निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि प्रदेश सरकारसंग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाई छ । ‘प्रदेश सरकारसंग आवश्यक सहकार्य गर्छौ । तपाईका समस्यालाई सम्बोधन गर्नेगरी हामी अगाडि बढ्छौं । बसपार्क निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्ने छ’ उनले भने ।
प्रदेश स्तरीय बसपार्क भनेपनि बाइपास रोड बनिनसकेकाले यहाँबाट छुट्ने बसहरु पोखरा भित्रिएरै बाहिरी जिल्ला जानेछन् । यसअघी प्रदेश स्तरीय बसपार्कबाट सिधै बाइपास रोडमार्फत स्याङ्जा र पर्वत जोड्ने भनिएको थियो । तर बाइपास रोड नबनिसकेकाले पोखराका भित्री बाटोबाटै बसहरु अन्य जिल्ला भित्रिनेगरी बसपार्कको डिपीआर तयार पारिएको छ ।
लामेआहालमा ८४ हजार ९ सय ४९ स्क्वार मिटर अर्थात एक सय ७२ रोपनी जग्गा बसपार्क लागि छुट्याइने छ । सुरुमा ७० प्रतिशत सार्वजनिक ३० व्यक्तिगत जग्गा भएपनि अहिले ३० प्रतिशत सार्वजनिक ७० प्रतिशत जग्गा व्यक्तिको बनेको पाइएको उनले बताए ।
प्रदेश बसपार्कमा ८० वटा लामो दुरीमा चल्ने बस, ३० वटा सिटी बस, पेट्रोल पम्प, पसल बस्ने टहरा समेतको डिजाइन् छ ।
जसको लागत एक अर्ब ४२ करोड लाग्ने अनुमान गरिएको छ । तत्काल १२० रोपनी जग्गा बसपार्क लागि प्रयोग गर्ने र बाँकी जग्गा आवश्यकता अनुरुप पछि थप गर्दै लैजाने योजना रहेको इन्जिनियर कोइरालाले बताए ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल र वडा नम्बर ३२ का वडाध्यक्ष रामचन्द्र अधिकारी सहितको सहभागिता थियो । स्थानीयले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । आफूहरुलाई अन्यायन नगर्न र छिट्टै बसपार्क निर्माण गर्न उनीहरुले आग्रह गरे ।
त्यसैगरी गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पुडिटार स्थित औद्योगिक क्षेत्रको समस्याका बारेमा पनि मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले अबलोकन गरेका छन् ।
औद्योगिक क्षेत्र निर्माणका लागि पनि महानगरले आवश्यक सहजिकरण गर्ने सो अबसरमा मेयर आचार्यले बताए । माथिल्लो पुडिटारमा रेलिङ महानगरको तर्फबाट निर्माण गर्ने र आवश्यक संरक्षणका लागि सहयोग गर्ने उक्त अवसरमा उनले आस्वासन दिए । उक्त स्थानमा ४५ घर स्थानात्नरण गर्नुपर्ने छ ।