राधिकाकुमारी शाही
पोखरा, ९ जेठ/ पोखरा महानगरमा एक मात्र महिला वडा अध्यक्ष निर्वाचित भएकी छन् । पोखरा महानगरमा १७ को वडा अध्यक्षमा एमाले उम्मेदवार राधिकाकुमारी शाही निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराएर उनी पोखरा–१७ को वडाध्यक्ष निर्वाचित भएकी हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा वडा सदस्य जितेकी राधिकाले यसपटक वडा अध्यक्षको टिकट पाएकी थिइन् । उनले २ हजार ९ सय ६७ मत पाएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले २ हजार ५ सय ४४ मत पाए ।
पोखराका ९ वटा वडामा ११ जना महिला वडाध्यक्षका उम्मेदवार थिए । राधिका पोखरा १७ मा स्वास्थ्य स्वयंसेविका भएर काम गरेकी थिइन् । कालिकोटमा जन्मिएकी राधिकाको कर्मक्षेत्र पोखरा हो । राधिका एमाले कास्की जिल्ला कमिटी सदस्य पनि हुन् । पोखरामा एमालेले राधिकासहित दुई जना वडाको वडाध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । पोखरा १० मा उम्मेदवार रहेकी पवित्रा गुरुङ भने पराजित भएकी छन् । कांग्रेसले पनि पोखरा १ र ८ मा वडाध्यक्षमा महिला उम्मेदवार उठाएको थियो ।
पोखरा १ मा नेपाली कांग्रेसकी सीता गुरुङ, पोखरा २ मा माओवादी केन्द्रकी अञ्जु विश्वकर्मा, पोखरा ८ मा नेपाली कांग्रेसकी शारदा गिरी र उन्नत लोकतन्त्र पार्टीकी सरिता कुँवर, पोखरा १० मा नेकपा एमालेकी पवित्रादेवी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनकी नृमती बुढाथोकी, पोखरा १४ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीकी सीतादेवी क्षेत्री, पोखरा १८ मा स्वतन्त्र पुर्ना खड्का विश्वकर्मा, पोखरा २२ मा जसपाकी सरिता क्षेत्री र पोखरा ३२ मा स्वतन्त्र निरुता विक उम्मेदवार थिए ।
वडा अध्यक्ष र सदस्यमा एमालेका प्यानल नै जितेको वडामा मेयरमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले वडा नम्बर १७ बाट २ हजार ६ सय ६९ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले २ हजार ४ सय ५९ मत पाए ।
उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले धेरै मत पाएकी छन् । गुरूङले २ हजार ९ सय ६७ मत पाइन् भने कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले २ हजार २ सय ९२ मत पाएकी छन् । २०७४ सालको निर्वाचनमा पनि पोखरामा एक जनामात्रै महिला वडाध्यक्ष निर्वाचित भएकी थिइन् । पोखरा १ मा नेकपा एमालेकी शारदाकुमारी पराजुली वडाध्यक्ष बनेकी थिइन् ।