पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा मन्जु गुरुङ जित नजिक पुगेका छन् । १ लाख २२ हजार २ सय १९ मत गणनामा गर्दा धनराज ३ हजार ९ सय ७९ मत र मन्जु ३ हजार ९७ मतले अगाडी छन् । धनराजले अहिले सम्म ४९ हजार २ सय ४१ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत प्राप्त गरेका छन् ।
१ लाख ४३ हजार २ सय २६ मत खसेकोमा २१ हजार ७ मत गणना गर्न बाँकी छ । पोखराको वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ । यी वडाहरुको प्रारम्भिक नतिजा अनुसार वडा नम्बर २१ र २२ मा बहेक आचार्यले नै अग्रता लिएका छन् । पोखरा वडा नम्बर १७, १९ र २१ थापालाई धेरै नै मत आउने अपेक्षा एमालेले गरेपनि आचार्यले नै पछि पारेका छन् ।
एमालेको गढका रुपमा मानिएका वडा नम्बर ५, २४, २५ र २६ मा पनि थापालाई उत्साहजनक मत आएन । त्यसैले गणना भइरहेका वडाहरुको बाँकी मत गणनामा पनि थापालाई ह्वात्तै मत आउने सम्भावना कम छ । त्यसैले पनि आचार्यको जित सुनिश्चित भएका एकृकित समाजबादीका कार्यकर्ताहरुको भनाई छ ।
मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार २ सय ५७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिको मेयर पदका लागि २२ जनाले उमेद्वारी दिएकोमा चार जनाले भन्दा अन्य उमेद्वारले ५ सय मत पनि ल्याउन सकेका छैनन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङपनि जिततर्फ उन्मुख भएकी छन् । उनले कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लगेकी छन् । गुरुङले ५१ हजार ५ सय ८९ मत प्राप्त गरेर अग्रता जारी राखेकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ४८ हजार ४ सय ९२ मत ल्याएर पछ्याईरहेकी छन् । गुरुङ रानाभाट भन्दा ३ हजार ९७ मतले अघि छिन् ।
अहिले गणना भई रहेका वडामा उपमेयरमा रानाभाटले वडा नम्बर ३२ र ३३ मा बाहेक अग्रता लिन सकेकी छैनन् । अहिले गणना भएका सबै वडाहरु एमालेको बढि मत आउने वडा भएका कारणपनि रानाभाटले अग्रता लिने कुनै सम्भावना छैन । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार २ सय ९९ मत प्राप्त गरेकी छन् ।
उपमयेरमा ८ जनाले उमेद्वारी दिएकोमा अन्य ५ जनाले ३ सय मत पनि कटाउ सकेका छैनन् । अहिले सम्म पोखराको २५ वटा वडाको नतिजा आएको छ । जसमा नेपाली काग्रेसले १८ वटा र नेकपा एमालले ७ वटा वडामा जित हासिल गरेका छन् ।