कास्कीमा मतदानमा उत्साह
पोखरा, ३० बैशाख/ स्थानीय तहकाको लागि आज भइरहेको मतदानमा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साह जनक रुपमा मतदान भईरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए । बिहान ७ बजे देखी ११ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको न्यौपानेले बताए ।
अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको उनले बताए । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरी सकेको उनले बताए । अघिल्लो स्थानीय निर्वाचनमा ७४ प्रतिशतभन्दा बढी मत खसेको थियो । कास्कीमा ५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ ।
कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको संख्या ७२ छ । ७२ वडा र ५ पालिका गरी कास्कीमा ३ सय ७० जना जनप्रतिनिधि चुनिन्छन् । पोखरा महानगरपालिकाको मेयरमा मात्र २२ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा ८ जनाले चुनावी प्रतिस्पर्धामा छन् । ०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो ।
पोखरामा उमेद्वारहरुले मतदान गरेका छन् । पोखराको मेयरका उम्मेद्वारमध्ये गठबन्धनबाट धनराज आचार्यले पोखरा ३३ शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । अर्का उम्मेद्वार कृष्ण थापाले पोखरा १६ को बाटुलेचौर स्थित विन्ध्यावासिनी माविबाट मतदान गरेका छन् ।
यस्तै, उपमेयरतर्फ एमालेकी मन्जुदेवी गुरुङले पोखरा ८ स्थित राम आधारभुत मतदान केन्द्रबाट र कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ स्थित भवानी कालिका माविको केन्द्रबाट मतदान गरेकी हुन् । अटेरीबाट मेयरका उम्मेद्वार गनेस पौडेलले पोखरा १४ को मझेरीपाटन स्थित रामेश्वरी मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् । सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन् । वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन् ।
कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएका छन् ।
प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार भन्दाबढि कर्मचारी परिचालित भएको बताए । उनले प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्रमा मतदान भईरहेको छ । गण्डकीमा पोखरा महानगरपालिका सहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन् ।