कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०७९ मा प्रकाशित


कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल

कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल

पोखरा, २९ बैशाख/ कास्कीका ५ वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिए ।

देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यसपटक २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । कास्की जिल्लाभर २ लाख ८१ हजार ८ सय ३३ जनाको नाम मतदाता नामावलीमा छ । कास्कीमा १ सय ५० वटा मतदान स्थल छन् र ३ सय ३६ मतदान केन्द्र छन् । जसमा करिब २ हजार ७ सय कर्मचारीले खटिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन शुक्रबार वर्षा हुन सक्ने अनुमान गरेपछि छ । पानी पर्ने अनुमानसँगै सबै निर्वाचन केन्द्रहरुले थप तयारी गर्दै कास्कीका मतदान केन्द्रहरुमा त्रिपाल र प्लास्टिकको व्यवस्था गरेको प्रवक्ता पनेरुले बताए ।

पोखराको मतगणना स्थल तयार भएको छ । यसपालि पोखराका उम्मेद्वारको मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ ।

कास्कीमा मतदान गणनास्थल

जिल्ला समन्वय समितिको भवन र उपत्यका नगर विकास समितिको भवनबाट मतगणना गर्न लागिएको हो । गणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने फड्किन नमिल्ने गरी तारजाली लगाइएको पनेरुले बताए ।

मतदान केन्द्रमा ३ वटा घेरामा सुरक्षा व्यवस्था तयार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । मतदान केन्द्रको भित्र नेपाल प्रहरी र म्यादी, त्योभन्दा बाहिर सशत्र प्रहरी र अन्तिम सुरक्षा घेरामा नेपाली सेना हुने छन् । कास्कीको अन्नपूर्णमा २० हजार ३ सय ४८ मतदाता थिए भने माछापुच्छ्रेमा २० हजार ३ सय १६ मतदाता थिए । यस्तै, मादीमा १८ हजार ७ सय ८२ र रुपामा १४ हजार ६ सय ७५ मतदाता छन् ।



Tags: , ,