कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ

-


     क्लिक गण्डकी     
     वैशाख २७ गते २०७९ मा प्रकाशित


कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ

कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ

पोखरा, २७ वैशाख/ स्थानीय तह निर्वाचनको लागि कास्कीमा कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्पm लागेका छन् । कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थल तर्फ लागेका हुन् ।

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।
कर्मचारीहरु बुधबार सम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

निर्वाचन सामग्री लिनका लागि पोखराको मुस्ताङचोकस्थित जिल्ला निर्वाचन कार्यालय र सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो । कर्मचारी अभावका कारण व्यवस्थित गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार भन्दाबढि कर्मचारी परिचालित भएको बताए । उनले प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको बताए । गण्डकीमा पोखरा महानगरपालिका सहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन् ।

कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको संख्या ७२ छ । ७२ वडा र ५ पालिका गरी कास्कीमा ३ सय ७० जना जनप्रतिनिधि चुनिन्छन् । पोखरा महानगरपालिकाको मेयरमा मात्र २२ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा ८ जनाले चुनावी प्रतिस्पर्धामा छन् । ०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो ।



Tags: , ,