धनराज आचार्य
पोखरा, २७ वैशाख / पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखराको ल्याण्डफिल्ड साईडको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । पोखरा १४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले ल्याण्डफिल्ड साईडको समस्या तत्काल समाधान गरि अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।
पोखरामा फोहोर व्यवस्थापनको विषय पटक पटक विवादित भैरहेको भन्दै यसको दीर्घकालिन समाधानको ठोष योजना सहित आफुहरु आएको आचार्यले बताए । उपयुक्त स्थानमा यसको व्यवस्थापन गरिने बताउदै आचार्यले पोखरालाई अन्तराष्ट्रिय बजारसंग जोड्ने विमानस्थललाई यथासिघ्र संचालन गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।
विमानस्थलको जग्गा अधिग्रहणका क्रममा मुआब्जा दिन बाँकी रहेको भए त्यसको तुरुन्तै समाधान गरिने आचार्यले बताए । पोखरा १४ मा व्यवस्थित ढलको निर्माण गरि वर्षातका बेलामा हुने डुबान र कटान लगायतको समस्या प्रति पनि गठबन्धनको ध्यानाकर्षण भएको आचार्यले बताए । यि तमाम समस्या समाधानका लागि गठबन्धनको जित आवश्यक रहेको उनले बताए । पोखरामा रहेको भुमिहिन समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको उनले बताए ।
नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिएका बिमल कार्कीले समेत गठबन्धनका उमेदवार आचार्यलाई सघाउने प्रतिवद्धता सहित उमेदवारी निस्क्रिय पारेपछि गठबन्धन थप बलियो भएको उमेदवार आचार्यले बताए । पोखरा महानगरपालिका आफुहरुको जित सुनिश्चित रहेको बताउदै आचार्यले गठबन्धनका उमेदवारहरुलाई निर्धक्क भएर मतदान गर्न अपिल समेत गरे ।