गण्डकी प्रदेश सरकारले अस्पताल र ११ जिल्लाका खेलकुद समितिका अध्यक्ष हटायो

-


     क्लिक गण्डकी     
     चैत्र २५ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेश

गण्डकी प्रदेश

पोखरा, २५ चैत/ गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारी र ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र सदस्यहरुलाई पदमुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल र खेलकुद समितिका अध्यक्षहरुलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेल लगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै २४ घन्टे अल्टिमेटम सहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अध्यक्षसहित चार जना पदाधिकारीलाई संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठनादेश २०७७ बमोजिम अध्यक्षबाट हटाउने निर्णय गरिएको प्रवक्ता खड्काले जानकारी दिए । संक्रामक तथा सरुवा रोग अस्पताललाई एक महिनाअघि प्रदेश स्थापना दिवस (फागुन ४ गते) प्रदेश सरकारले प्रदेशभरि कै उत्कृष्ट अस्पताल घोषणा गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिका प्राडा कृष्णप्रसाद पौडेल सहित पदाधिकारी धुव्र अधिकारी, मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जारालाई सेवासम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेशका खेलकुद मन्त्रालयले केही दिन पहिले ११ जिल्ला कै अध्यक्षलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सन्तोष जनक नभएको भन्दै खेलकुद मन्त्रालयको सिफारीसमा सबैलाई पदबाट हटाए निर्णय मन्त्री परिषद्ले गरेको खड्काले जानकारी दिए ।



Tags: