मुस्ताङमा लेक लागेर तीन विदेशी पर्यटकको मृत्यु

-


     क्लिक गण्डकी     
     असाेज २४ गते २०८० मा प्रकाशित


शव

मुस्ताङ, २४ असोज/ मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना, भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन् ।

लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो । अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक सत्यनारायणलाई असोज २१ गते श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई पनि उपचारका क्रममा निधन भएको हो ।

त्यसै गरी भारतकै तमिलनाडुबाट मुक्तिनाथ आएकी रेवतीको श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुस्ताङको प्रवेशद्धार घाँसा पुगेपछि उनलाई असोज २३ गते श्वासप्रश्वासमा समस्या देखिए थियो। मोटरबाटोबाट छिट्टै उच्च हिमाली भेगमा पुग्ने पर्यटकलाई लेक लाग्ने गरेको छ ।