
तनहुँ १ मा २५ प्रतिशत मतदान
पोखरा, १० वैशाख/ तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २५ प्रतिशत मत खसिसकेको अनुमान छ ।
तनहुँ क्षेत्र १ का ६९ मतदानस्थलका १ सय ५२ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । वैशाखको धूपमा दिउँसो गर्मी हुने भएकोले मतदाता सकेसम्म बिहानै मतदानस्थलमा पुग्ने कोशिस गरिरहेका उनको भनाई छ ।
तनहुँ १ मध्ये ३ वटा मतदानस्थल अतिसंवेदनशील र २४ वटा संवेदनशील तोकिएको छ । त्यसको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी ३ घेरामा सुरक्षा दिइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रोमा नेपाली सेनाका सुरक्षाकर्मी गरी २ हजार ५ सय जना तैनाथ छन् । चुनावका लागि १ हजार ३ सय ६८ कर्मचारी खटिएका छन् ।
तनहुँ १ अन्तर्गत पाँच पालिकाका ४२ वटा वडा पर्दछन् । व्यास नगरपालिकाको वडा १ देखि १४ मध्ये ५ र ६ बाहेकका वडा, भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकाका सबै वडा पर्दछन् । तनहुँ १ मा कुल १ लाख २३ हजार ३ सय ५० मतदाता छन् ।





