शोकलाई सेवामा बदल्दै मदनकाजि श्रेष्ठ, १ करोडको कोष स्थापना

-


     क्लिक गण्डकी     
     फागुन २४ गते २०७९ मा प्रकाशित


मदनकाजि श्रेष्ठ

मदनकाजि श्रेष्ठ

रवीन्द्र माकाजू

कवि, नाटककार बालकृष्ण समले लेखेका छन्–
दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया गरी अझ मलाई दुःख दे ।।

यस्तै दुःखदायी विभत्स घटना घटेको छ पोखराका एक कर्मठ समाजसेवी मदनकाजि श्रेष्ठका जीवनमा । २०७९ साल माघेसक्रान्तिका दिन श्रेष्ठका परिवारमा ठूलो बज्रपात भयो । छोरा, बुहारी, नातिको एउटै चिहान भयो तर यी सबै परिदृश्यलाई आत्मसात गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सभापति श्रेष्ठले दिवगंत भएका छोरा, बुहारी, नातिको स्मृतिमा १ करोडको कोष सहितको प्रतिष्ठान खडा गरेर उनीहरुलाई अमर बनाईनुका साथै सामाजिक सेवामा आफूलाई समर्पित गर्ने पवित्र एवम् महान लक्ष्य राखेका छन् ।

विसं २०१३ बैशाख १३ गते पोखराको रामकृष्णटोलमा जन्मिएका श्रेष्ठ आफ्ना परिवारसँग माघेसंक्रान्ति खुशीयालीका साथ मनाउने तयारी गर्दै थिए । यो पर्व मनाउन छोरा बुहारी आफ्ना १५ महिने काखे बालक सहित पोखरा आउँदै थिए । छोरा डा शुशिलले हामी यति एयरबाट ९ बजे पोखरा आउँदै छौ भनेर खबर गरेका थिए । छोरीले बाबु मदनकाजिलाई दाइभाउजुलाई लिन एयरपोर्ट जाऊँ भने पछि बाबुछोरी पोखराको नयाँ विमानस्थल हुँइकियौं । जहाजको प्रतिक्षा गर्दै थियौं ।

टर्मिनल भवनका कारण जहाज लैण्डिङ गरेको भने देखिदैन थियो । छोराले काठमाडौं एयरपोर्टबाट हामीले बोडिङपास लियौ, नौ बजे जहाजमा प्रवेश गर्दैछौ भनेको सम्झे । समयमा जहाजले लैण्डिङ गरेन । केही समय पछि एयरपोर्टबाट दुई दमकल निस्कियो । मदनजीले सम्झे पोखरा बजारमा कतै आगलागी भयो होला । मदनकाजि त्यो दिन सम्झदै भने ।

केही समयपछि एयरपोर्टमा हल्ला चल्यो, प्लेन क्य्रास भयो । मदनको मनमा चिसो पस्यो । कतै यो क्य्रास भएको जहाज यति एयर त होइन ?

एयरपोर्ट नजिकै जहाज खसेको थाहा पाएपछि छोरीले चिच्याउँदै भनिन्– बुबा १ हामी पनि उद्धार गर्न जाऊँ । हामी अघि बढ्यौं । बाटोमा मान्छे नै मान्छे थिए । हामी थुम्कोमा चढेर प्लेन खसेको ठाउँ हेरौं । मैले केही सुर पाइँन । पानी पानी भनि चिच्याएछु । पानी दिने मान्छे कोही भेटिएनन् । केही समयपछि मलाई मेरो ओठमा पानी हालिदिएछ । गण्डकी मेडिकल कलेजबाट ज्वाइ आइपुग्नुभयो । त्यसपछि के भो मलाई थाहा भएन ।

अमेरिकामा भएको जेठो छोरा सुनिललाई कसैले खबर गरिदिएछ । उनी नेपाल आईपुगे । घरमा रुवावासी चल्यो । म र मेरी श्रीमती भीममाया होसमा थिएनौं । दिनभरी रातभरी सुत्थ्यौं, को आए को आएनन् थाहै भएन । हेर्दाहेर्दै घटना घटेको ७ दिन बित्यो । आँखामा आशु सुकिसकेका थिए । आठौं दिन धार्मिक विधिपूर्वक अन्त्येष्टि गरियो । १३ औं दिनमा इष्टमित्र, आफन्त, टोलछिमेकी शुभचिन्तक आई सबैले मौनतापूर्वक सान्त्वना दिए ।

मदनकाजिलाई लाग्यो मान्छे जन्मेर एक दिन अवश्य मर्नुपर्छ । अन्तर के मात्र हो भने कोही अगि कोही पछि । मेरा छोरा डा। शुशिल, बुहारी डा। सोना, नातिले लामो दीघार्यु पाएनन् । तर मैले उनीहरुलाई जीवन्त राख्नका लागि केही न केही गर्नुपर्छ । यसो हुन सक्यो भने उनीहरुको आत्माले शान्ति पाउँछन् । सत्कार्यका कारण उनीहरु युगयुग बाँचिरहन्छन् ।

सामाजिक भावनामा चुर्लुम्म डुबेका मदनकाजिका मनमा यस अघि ५/१० लाखको एउटा कोष बनाएर सेवाकार्य गर्ने सोच विचार आएको थियो । उनी उपयुक्त समयको प्रतिक्षामा थिए तर ०७९ साल माघे संक्रान्तिका दिन उनका जीवनमा ठूलो आँधीबेरी, हुरीबतास लिएर आयो । अकल्पनीय घटना घट्न गयो । यस दुःखान्त घटनालाई पनि सामना गर्दै सोचे– यी सबै घटनाले मेरो परीक्षा लिइराखेको छ । अब म समाजसेवाका क्षेत्रमा खरो रूपमा उत्रन्छु । मैले बाँकी जीवनलाई परोपकारको क्षेत्रमा खर्चनुपर्दछ ।

श्रेष्ठले आफ्नो जीवनमा ठूल्ठूला सङ्घर्ष गरेका थिए । उनले जागीरका कारण आई।ए र बि।एको परीक्षा प्राइभेटका रूपमा दिएका थिए । एम।एको परीक्षा ठूलो मेहनतका साथ पास गरे । नेपाल राष्ट्र बैंकको सेवामा उनले लगातार २८ वर्ष बिताए । उनी स्वयं बारम्बार स्वास्थ्य उपचारका लागि भारतमा गईरहन्थे । स्वास्थ्य अनुकूल नभएपनि सामाजिक सेवाकार्यमा उनले धेरै समय खर्चे ।

नेपाल क्षयरोग निवारण सङ्घ, रेयुकाई नेपाल, नेकपा एमालेमा धेरै वर्ष बिताएका श्रेष्ठ अहिले नेपाल कम्युनिष्ठ पार्टी एकिकृत समाजवादीका केन्द्रीय लेखा समितिका सदस्यको भूमिका निर्वाह गर्दैछन् । उनी गण्डकी विकास बैंकका संस्थापक सञ्चालक हुन् भने गण्डकी मेडिकल कलेज सञ्चालक समितिका सदस्य पनि थिए । उनी पोखरा उपत्यका चार विकास समितिका सदस्य भएर पोखराको समग्र विकासमा सक्रिय भएर लागेका थिए ।

पछिल्लो समयमा जुन हृदय विदारक घटनाको अनुभूति गर्दै श्रेष्ठ भन्दछन्– मैले जीवनमा जुन पीडा भोगें त्यस्तो पीडा भविष्यमा कसैले पनि भोग्न नपरोस् । ईश्वरले मलाई वरदान माग भन्यो भने म यही वरदान नै माग्छु । कसैले आँखा अगाडि सन्ततिको वियोग देख्न नपरोस् । सबैका जीवनमा काल त अवश्य आउँछ तर निष्ठुरी, निर्मोही कठोर भई नआवोस् । साथै यस्ता घटना कसैका कमी कमजोरीका कारण भएको भए छानबिन गरी दोषी माथि कारवाही पनि होस् ।



Tags: