रीता पहारी जस्ले श्रीमानको स्मृतिमा पुरस्कार स्थापना गरिन्

-


     क्लिक गण्डकी     
     फागुन २१ गते २०७९ मा प्रकाशित


रीता न्यौपाने पहारी

रीता न्यौपाने पहारी

रवीन्द्र माकाजू

पोखरा ६ बैदाम निवासी रीता न्यौपाने पहारी पोखराले सधैं सम्झनु पर्ने एक आदर्श नारी पात्र हुन् । जसले आफ्ना श्रीमान शिक्षासेवी एवं साहित्यकार हेमराज पहारीको सम्झनामा प्रतिष्ठान मात्रै जन्माइनन् एक लाख रुपैया राशीको साहित्यिक पुरस्कार स्थापना गरिन् । हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेकी छिन् ।

भनिन्छ– जीवन अनित्य छ, क्षण भंगुर छ अनि अकल्पनीय पनि । यस्तै नियती भोग्नुप¥यो रीता न्यौपानेले । विसं २०६६ साल फाल्गुन १७ गते हेमराज सरको अकल्पनीय एवं अप्रत्यासित रूपमा मृत्यु भयो । यस घटना भएको प्रथम वार्षिकीमा श्रीमानको सम्झनामा साहित्यिक पुरस्कार प्रदान गर्न कोष राख्ने विचार गरिन् ।

उनले ०६७ चैत्र ३ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् रूपमा हेमराज स्मृति प्रतिष्ठान दर्ता गरिन् । आफैँले संस्थाको नेतृत्व लिइन् र लक्ष्य अनुरूप अघि बढिन् । अहिले कोषमा २० लाखभन्दा बढी रकम जम्मा भएको छ । कोष रकम जम्मा गर्ने कार्यमा उनीले कसैसँग हात थापिनन् ।

संस्थाको लक्ष्य अनुरूप पहिलोपल्ट यो पुरस्कारद्वारा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गरियो । त्यसैगरी दोस्रोपल्ट दाङको राप्ती साहित्य परिषद् र तेस्रोपल्ट धरानको विमल गुरुङ स्मृति पुस्तकालय प्रदान गरिन् । यसैगरी चौथो पटक लोककवि अलि मियालाई ९मरणोपरान्त० प्रदान गरिएको थियो भने पाँचौ पल्ट हेटौंडाको झरना साहित्यिक परिवारलाई एक लाख प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारी बताउँछिन् ।

पहिलोपल्ट हेमराज स्मृति पुरस्कार ग्रहण गर्दै सत्यमोहन जोशीले भनेका थिए – २०१० सालमा पति वियोगमा परेकी रानी जगदम्बाले मदन पुरस्कार स्थापना मात्रै गरेनन् उनकै हातबाट पुरस्कार ग्रहण गरेजस्तै आज रीता नानीको हातबाट पहिलो हेमराज पुरस्कार ग्रहण गर्न पाउनु मेरा लागि ऐतिहासिक क्षण बन्न पुगेको छ ।

सामान्य मान्छेले कृति राख्ने कार्य गर्दैनन् । संसारमा धेरैका पति, पत्नी, सन्तान, बाबुआमा मरेका छन् तर तिनका नाममा सत्कर्म गर्ने हेक्का राख्दैनन् । तर रीता न्यौपाने पहारीले जुन सत्कार्य गरेकी छिन्, त्यो युगयुगका लागि हो । समग्र साहित्य उत्थानका लागि हो । आफ्नै लागि हो । यस पुण्यकार्यले समग्र पोखरा उठेको छ । यस पुण्यकार्यको हृदय देखि नै धन्यवाद दिन चाहन्छु । साथै बधाई पनि ।

पोखरामा आयोजना गरिने हरेक साहित्यिक कार्यक्रममा प्रतिष्ठानको अध्यक्षको हैसियतले उनी पुग्ने गर्दछिन् । साहित्यमा गहिरो रुचि राख्ने र पुस्तक पढ्ने बानी भएकाले फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेतापनि पुस्तकाकारको रूप भने दिन भ्याएकि भने छैनन् । उनको साहित्यिक योगदानको कदरस्वरूप २०७६ सालमा उनलाई जनमत राजभाइ सहयात्री सम्मान प्रदान गरिएको थियो । उनी नारी प्रतिभा वाङमय प्रतिष्ठान, गोमा फाउण्डेसन इनर व्हिल क्लब अफ पोखरा, कोपिला नेपाल, सप्तरङ्गी साहित्य समाज जस्ता संस्थामा पनि संलग्न छिन् । वास्तवमा रीता मेडम पोखराका एक साहित्यिक अभियन्ता हुन् ।

अध्यक्ष पहारी प्रतिष्ठानको कोष वृद्धिमा मात्र होइन साहित्यिक गतिविधि बढाउने पक्षमा सक्रिय छिन् । प्रतिष्ठानले साहित्यकार हेमराज पहारीका कृतिहरु प्रकाशित गर्दै जाने लक्ष्य लिएको छ । अझ विशेष गरी यो प्रतिष्ठानलाई कसरी सक्रिय र जीवन्त राख्न सकिन्छ भनेर प्राय वरिष्ठ साहित्यकारसँग रायसुझाव माग्ने गर्दछिन् । पहारी मेडमका अनुसार साहित्यिक संघसंस्थालाई स्थानीय निकायमा मात्र दर्ता गर्नुपर्ने सुझाव राख्दै भन्दछिन् – हरेक वर्ष संघसंस्था दर्ता गर्ने प्रावधानलाई पाँच वर्षमा एकैपल्ट नविकरण गर्ने व्यवस्था गरिनुपर्दछ । किनभने यी संस्थाहरु स्वयम्सेवी संस्थाहरु हुन् ।

साहित्यिक संघसंस्था दर्ता गर्नुभन्दा चलाउन गाह्रो भन्दै पहारी भन्दछिन् – यो पुरस्कारको इतिहासलाई म कुनैपनि हालतमा मर्न दिन्न । विसं २०२७ साल आषाढ १९ गते काभे्रको चौरी देउरालीमा जन्मिएका रीता न्यौपानेको विसं २०५० मा पोखराका शिक्षासेवी एवं साहित्यकार हेमराज पहारीसँग विवाह भएको थियो । विसं २००० साल कात्तिक १९ गते जन्मिएका हेमराज सरले धेरै वर्ष राष्ट्रिय माध्यमिक विद्यालय टुडिखेलमा पढाएका थिए भने पछिल्लो समयमा पर्यटन व्यवसायी पहारीका थुपै्र साहित्यिक कृति प्रकाशित छन् ।

उनको उत्तरी गोलाद्र्धको एक फन्को, देशको अभिभारा आदि लोकप्रिय पुस्तकमा पर्दछन् । रीता पहारीका अनुसार यो प्रतिष्ठानले गण्डकी प्रदेशलाई उपेक्षा गरेको छैन । मदन पुरस्कारलाई दिक्षित परिवारले संरक्षण गरे जस्तै भविष्यमा आफूँ नरहे पनि यो पुरस्कारलाई निरन्तरता दिने कार्यमा पोखरेली साहित्यप्रेमिहरू पछि पर्ने छैनन् भन्नेमा म आशावादी छु ।



Tags: ,