टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र पुलिस बिच

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०७९ मा प्रकाशित


टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र पुलिस बिच

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र पुलिस बिच

पोखरा, ७ माघ/ तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिताको पहिलो दिन तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन् । पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबका विच हुनेछ । त्यसै गरी उद्घाटन खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बिच हुनेछ ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजाउने बताएको टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए । यस्तै गरी अन्तिम समयमा महिलातर्फकै विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड समेत नआउने भएको आयोजकले जनाएको छ ।

महिलातर्फ दुई टोलीको सहभागिता नभए पछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागिता गराएको छ । गण्डकीको महिला टिममा तीन जना राष्ट्रियस्तरका भारतिय खेलाडीहरु टोलीमा समावेश गरिएको आयोजकले जनाएको छ । गण्डकीको महिला टिम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ नेपाल आर्मी विजेता बनेको थियो । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष शर्माले बताए । प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।