
फ्रान्स सेमिफाइनलमा
एजेन्सी / साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो ।
खेलको १७ औं मिनेटमा औरेलिएन चुआमेनीले फ्रान्सलाई गोलमार्फत अग्रता दिलाए । खेलको ५४ औं मिनेटमा सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
तर जिरुडले हेडरमार्फत गोल गर्दै ७८ औं मिनेटमा फ्रान्सलाई पुनः अग्रतामा दिए । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुनः पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली विश्वकमबाट बाहिरीन पुग्यो ।
८४ औं मिनेटमा थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो ।
फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।





