
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १९ कात्तिक/ पर्यटकीय राजधानी पोखरामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । प्रहरीले लेकसाइड क्षेत्रमा २१ जना व्यक्ति पक्राउ र २७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
लेकसाइड क्षेत्रमा झगडा गर्ने, पर्यटकलाई अनावश्यक दुःख दिने, दुव्र्यवहार गर्ने तथा अवाञ्छित गतिविधिमा भेटिए प्रहरीले नियन्त्रणमा लिन थालेको हो । जिल्ला प्रहरी कार्यालय कास्की र प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले गएराति देखि अभियान सञ्चालन गरेको हो ।
राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका ६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीका क्रममा २१ जना पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पक्राउ पर्नेमा झण्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित गतिविधिमा संलग्न ६ जना, झगडा गर्ने २ जना, मादक पदार्थ सेवन गरि होहल्ला गर्ने ३ जना रहेको उनले बताए । त्यसैगरी, सवारीसाधन जाँचका क्रममा २७ वटा सवारी कारबाहीमा परेको उनले बताए ।
तीमध्ये १५ वटा सवारी साधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने २ वटा सवारी साधनका चालकलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही गरेको उनको भनाई छ । बाँकी १० वटा सवारीसाधन थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य रूपमा सम्पन्न गराउने, पर्यटक तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने र पोखराको पर्यटनलाई अझ राम्रो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका कास्की प्रहरी प्रमुख नबिन कार्कीले बताए ।







