
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा एक युवक मृत फेला, ६ जना पक्राउ
पोखरा, ९ कात्तिक/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस घिप्लेमा एक युवक मृत फेला परेका छन् । २२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा पौडेलको हत्या भएको हुन सक्ने बताएको छ ।
प्रहरीले अनुसन्धानका लागि माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक, ३८ वर्षीय ललित पुन र माछापुच्छ्रे गाउँपालिका–५, रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा अनुसन्धान टोली र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो ।
उनीहरू राति सँगै मदिरा पिएका र मदिरा पिउँदै जाँदा विवाद भएको देखीको प्रहरीले जानकारी दिएको छ । पछि हातहालाहालको स्थिती आएको देखीको प्रहरीको भनाई छ ।
उनीहरू घरतिर गए पनि राति साथीहरू सहित गएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । घटनाको अनुसन्धान भैरहेका कारण प्रहरीले थप विवरण सार्वजनीक गरेको छैन ।







