
मदरल्याण्ड मावि
पोखरा, ८ असाज/ सम्भावित बाढी, पहिरो र ठुलो पानी पर्ने कारण पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सूचना जारी गर्दै आज ८ गते र भोलि ९ गते विद्यालयहरू बन्द रहने बताएका छन्।
मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको हो। यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेका थिए । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ।
अतिक्रमण र जोखिमबाट बच्नका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरले अनुरोध गरेको छ। ‘सुरक्षा नै पहिलो प्राथमिकता हो, सतर्क रहौँ, सुरक्षित रहौँ,’ सूचनामा भनिएको छ।
बिदा दिएका यी दुई दिनको पठनपाठनलाई क्षति नपुग्ने गरी पछि अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरले जनाएको छ।







