
पोखरा याम्दी खोलाको खोचमा घाइते अवस्थामा महिला फेला
पोखरा, १७ भदौ/ पोखरा महानगरपालिका–२५ हेम्जा चौरस्थित याम्दी नदीको भिरबाट महिला कराएको आवाज सुनिएपछि खोजीमा खटिएको प्रहरी टोलीले एक महिलालाई घाइते अवस्थामा उद्धार गरेको छ।
खोजी गर्दै जाने क्रममा हेम्जा चौरबाट करिब ३०० मिटर तल याम्दी खोलाको भिरमा पोखरा–२५ बुद्धचोक बस्ने २२ वर्षीया देवी सुनार घाइते अवस्थामा फेला परेकी हुन्।
प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ। उद्धार गरिएकी सुनारको ढाड तथा दुवै हातखुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा नरहेको बताइएको छ।
महिला कराएको आवाज सुनिएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको संयुक्त टोली परिचालन भएको थियो।
घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





