कास्कीको मोदीखोलाले मन्दिर र दुईवटा पुल बगायो, घान्दुक, अन्नूर्ण क्षेत्र जाने सडकमार्ग अवरुद्ध

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०८३ मा प्रकाशित


कास्कीको मोदीखोलाले मन्दिर र दुईवटा पुल बगायो, घान्दुक, अन्नूर्ण क्षेत्र जाने सडकमार्ग अवरुद्ध

कास्कीको मोदीखोलाले मन्दिर र दुईवटा पुल बगायो, घान्दुक, अन्नूर्ण क्षेत्र जाने सडकमार्ग अवरुद्ध

पोखरा, २९ साउन/ अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ ।

अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो ।

सो ठाउँको दुईवटा पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए । पर्वत र कास्की जोड्ने तथा मन्दिर आवतजावत गर्ने मेटल पुल खोलाले बगाएको हो ।

मन्दिर परिसरमा ३ जना मानिस अलपत्र परेपछि शसस्त्र प्रहरीले उद्धार गरेको छ । मन्दिरमा फसेका दुईजना भक्तजन र एकजना पुजारीलाई सशस्त्र प्रहरीको नम्बर–२४ कालिका गणले उद्धार गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–८ मोदी खोलामा आएको बाढीले वीरेठाँटी–घान्द्रुक सडकखण्डको दुई स्थानमा कटान गर्दा घान्द्रुक सडक सम्पर्कबाट पूर्णरूपमा बिच्छेद भएको छ । तिखेढुंगा हुँदै उल्लेरी, घोरेपानी, पुन हिल पुग्ने सडक सम्पर्कबाट टुटेको छ ।

अन्नपूर्ण–८ वीरेठाँटीमा मोदी खोलामा आएको बाढीले खोलाको किनारमा रहेको पक्की सडकको विभिन्न भाग कटान गरेको हो । मोदीले वीरेठाँटी–घान्द्रुक सडकखण्डकै चिम्रुङ तथा स्याउली बजारबाट सार्दीखोला जाने सडकमा समेत क्षति पुगेको छ ।

मोदी खोलाको कटानले घान्द्रुक, अन्नपूर्ण आधार शिविर, घोरेपानी–पुन हिल लगायत पर्यटकीय गन्तव्यको प्रवेशद्वार वीरेठाँटी बजार समेत जोखिममा परेको छ । मोदीको कटानले अन्नपूर्णको वडा नम्बर ८, ९, १० र ११ को सम्पूर्ण भूभाग सडक सम्पर्कबाट बिच्छेद भए छ ।