
पोखराको पृथ्वीचोकमा ‘पोखरा घर’
पोखरा, २९ साउन/ पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’को औपचारिक उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, र उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा घरको समुद्घाटन गरे ।
यो घरमा कोसेली घर समेत सहित पुस्तकालय, कला लगाएतका भवनमा रहने छन् । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताए ।
विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।
पोखरा घरमा साहित्य, कला, सङ्गीत, संस्कृति र पर्यटकीय गतिविधिहरूलाई एकै पाइने छ । घरमा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नान घर, शौचालय, घण्टाघर लगायत व्यवस्थापन गरिएको छ । भवन ५ करोड भन्दा बढि लागतमा निमार्ण भएको हो ।
कार्यक्रममा उपप्रमुख मन्जुदेवी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य, सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग, राधिका कुमारी शाही योगी, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, लगायत भवन निमार्णले कला, साहित्स, संगित टेवा पुग्ने बताए ।





