
जुवा तास
पोखरा, २४ साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१७ ड्यामसाइडबाट जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः३० बजे ड्यामसाइड क्षेत्रमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो। टोलीले जुवातास खेल्ने तथा खेलाउने ६ जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट नेपाली नगद २८ हजार ७० रुपैयाँ, भारतीय नगद २ हजार ५ सय रुपैयाँ तथा १५६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





