मदरल्याण्ड मावि इन्जिनियरिङ र आइटी क्वीजमा देशभरिमै च्याम्पियन

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०८३ मा प्रकाशित


मदरल्याण्ड मावि इन्जिनियरिङ र आइटी क्वीजमा देशभरिमै च्याम्पियन

मदरल्याण्ड मावि इन्जिनियरिङ र आइटी क्वीजमा देशभरिमै च्याम्पियन

पोखरा, ५ साउन /मदरल्याण्ड माध्यमिक विद्यालय पिइए इन्जिनियरिङ तथा आइटी क्वीज–२०२६ मा च्याम्पियन बनेको छ । देशभरबाट फाइनलका लागि छानिएका ४८ टिममध्ये उत्कृष्ट प्रदर्शन गर्दै मदरल्याण्ड प्रथम भएको हो । मदरल्याण्डको टिमबाट प्रथम हुनेमा विद्यार्थी अर्मन गिरी र सुवाश पोखरेल हुन् ।

पोखरा–७, मासबारस्थित मदरल्याण्डले विगतमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएकोमा यसपालि पुनः च्याम्पियन बन्न सफल भएको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । उनका अनुसार सन् २०२३ मा पनि मदरल्याण्ड राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो ।

शैक्षिक सहित अतिरिक्त क्रियाकलापमा एकपछि अर्को उत्कृष्ट नतिजा ल्याउँदै आएको मदरल्याण्डले हरेक वर्ष फाइनलमै प्रतिस्पर्धा गर्ने गरेको छ । मदरल्याण्डबाट प्रथम हुन सफल विद्यार्थीले बिई तथा आइटी कार्यक्रममा पूर्ण छात्रवृत्ति प्राप्त पाएका छन् । साथै, नगद १ लाख, एक–एक थान ल्यापटप, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी, काठमाडौंको केएमसीका निश्चल ठगुन्ना र सोभित खत्री फस्ट रनरअप तथा पोखराको गण्डकी बोर्डिङ स्कुलका अभिनव ढुंगाना र एसएन भिक्टोरी सेकेण्ड रनरअप हुन सफल भए । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः पूर्ण छात्रवृत्ति सुविधा सहित नगद ५० हजार र २५ हजार पुरस्कार पाए ।

यो प्रतियोगिता इन्जिनियरिङ र आइटी क्वीजको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसपालि करिब ७ सयभन्दा बढी टिमले भाग लिएका थिए । ‘प्रथम हुन सफल हुनु भनेको विभिन्न कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त हुने भएकाले यो करिब ४०÷५० लाख बराबरकै प्राइज हो,’ मदरल्याण्डका प्लस टु इन्चार्ज आचार्यले भने ‘हामीहरु यो सफलताका लागि विद्यार्थी, शिक्षक एवं अभिभावकलाई धन्यवाद दिन्छौं ।’