बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८३ मा प्रकाशित


बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ

बहुमूल्य क्रिस्टलको प्रलोभन देखाएर १० लाख ठगी गर्ने ६ जना पोखराबाट पक्राउ

पोखरा, २९ असार/ बहुमूल्य क्रिस्टल रहेको भन्दै करोडौं रुपैयाँमा बिक्री हुने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–२८ निवासी दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फुलाउने अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल रहेको भन्दै फोटो र भिडियोसमेत देखाएर विश्वास दिलाइएको थियो।

उक्त क्रिस्टल बिक्री गर्दा अरबौं रुपैयाँ प्राप्त हुने प्रलोभनमा पारेर उनीबाट नगद १० लाख रुपैयाँ ठगी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपितहरूले पछि पुनः सम्पर्क गरी थप २० लाख रुपैयाँ माग्दै रकम नदिए विभिन्न किसिमका धम्कीसमेत दिएका थिए।

यस सम्बन्धमा प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले २०८३ असार २९ गते साढे १२ बजे पोखरा महानगरपालिका–२६ कालिकास्थान छहारीबाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो आकारको वस्तु १ थान, काठको फोल्डिङ बट्टा १ थान, चार्जर १ थान तथा ६ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका–४ का ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका–५ का २९ वर्षीय दिपक गोतामे, पोखरा महानगरपालिका–२८ का ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विश्वकर्मा, २९ वर्षीया रोशनी सुनार र ७२ वर्षीया खैसरा सुनार रहेका छन्।

उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।