कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित

-


     क्लिक गण्डकी     
     असार २८ गते २०८३ मा प्रकाशित


कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित

कास्कीको किम्रुङ खोलामा बाढी र पहिरो, पुल बगायो, ४० घर प्रभावित

पोखरा, २७ असार/ वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी र पहिरो आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् ।

किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यस्तै, स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ ।

त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको केसीले बताए । यता, मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन पालिकाले सूचित गरेको छ ।

जोखिमयुक्त क्षेत्रहरूमा पालिका र स्थानीय स्तरमै रहेका प्रहरीको समन्वयमा सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले सुनाए ।

पहिरो र बाढीका कारण घुम्न गएका पर्यटकहरू अप्ठ्यारोमा परेको स्थानीय नवराज क्षेत्रीले जानकारी दिए। उनले ठाडो खोलामा आएको पहिरो सहितको बाढीले ठूलो क्षति भएको बताए। उनले मोदीखोला आसपास बसोबास गर्ने सम्पूर्णलाई सतर्क भएर बस्न समेत अनुरोध गरेको बताए ।