श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी

-


     क्लिक गण्डकी     
     असार २७ गते २०८३ मा प्रकाशित


श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई, २ लाख २२ हजार २ सय २२ राशी

पोखरा, २७ असार/ श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठीको २१९ औं जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८२ सो आश्रमलाई अर्पण गर्न लागिएको जानकारी दिइएको हो ।

पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए ।

छनौट समितिको सिफारिसमा मानव सेवामा समर्पित सो आश्रमलाई पुरस्कार प्रदान गरिने निर्णय गरेको उनले बताए । पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने समाजका महासचिव नवराज कोइरालाले जानकारी दिए ।

पुरस्कृत संस्था मानव सेवा आश्रमले विभिन्न जिल्लामा आश्रम स्थापना गरेर हजारौं असहायःहरुलाई आश्रय प्रदान गर्दै आएको छ ।

बेसहारा, असहायः, मानसिक रुपमा अस्वस्थ, बृद्धबृद्धा तथा सहयोगापेक्षी व्यक्तिहरुको उद्धार, संरक्षण, उपचार, पुर्नस्थापना र पारिवारिक पुनर्मिलन गराउने उद्धेश्यले २०६९ सालमा मकवानपुरको हेटौंडाबाट शुरु भएको यस संस्थाले हाल सातै प्रदेशका २१ जिल्लाबाट ३४ सेवा आश्रममार्फत सेवा प्रदान गर्दै आएको छ । जहाँ १ हजार ६ सय ९७ जना आश्रित रहेका छन् ।

आश्रममा उनीहरुलाई सुरक्षित आवास, पौष्टिक भोजन, स्वास्थ्य उपचार, मानसिक परामर्श दिईनुका साथै आवश्यक पुर्नस्थापनाका लागि पहल गर्दै आएको छ । संस्थाले हालसम्म करीब १४ हजार जना सडकआश्रितको उद्धार गरिसकेको छ ।

चेलीबेटी बेचबिखनबिरुद्ध सशक्त आवाज बुलन्दसहित अभियान सञ्चालन गरिरहेको माईती नेपाललाई २०७९ सालमा पुरस्कृत गरेर पुरस्कार अर्पण गर्न शुरु गरेको यस संस्थाले महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र, विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति, आँखाको ज्योति फर्काउन अभियान सञ्चालन गरिरहेको तिलगंगा ईन्ष्टिच्यूट अफ अप्थाल्मोलोजीका संस्थापक सन्दुक रुईत र असहायःहरुलाई सहारा दिई आवासीय रुपमा राखेर बस्ने, खाने, स्वास्थ्य उपचार गर्ने कार्य गर्दै आएको सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रमलाई पुरस्कृत गरिसकेको छनौट समितिका संयोजक डा दिलबहादुर क्षत्रीले बताए ।