
फुलबारी रिसोर्टले पुनः सञ्चालनका लागि माग
पोखरा, २५ असार/ लामो समयदेखि बन्द रहेको पोखराको दि फुलबारी रिसोर्ट पुनः सञ्चालनका माग गरेका छन् । सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ।
रिसोर्टका महाप्रबन्धक सागर कँडेलले संघका अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा फुलबारी रिसोर्ट पोखराको पर्यटन तथा आर्थिक क्षेत्रको महत्वपूर्ण संस्थामध्ये एक भएकाले यसको पुनः सञ्चालन आवश्यक रहेको उल्लेख गरेका छन्।
पत्रमा रिसोर्ट बन्द हुँदा स्थानीय रोजगारी, पर्यटन, व्यवसाय, आपूर्ति प्रणाली तथा समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ। साथै, पुनः सञ्चालनका लागि देखिएका कानुनी तथा प्रशासनिक विषयमा सम्बन्धित निकायसँग समन्वय र समाधानको प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
रिसोर्टले सम्बन्धित अदालतबाट जारी भएका आदेश तथा कानुनी प्रक्रियाको सम्मान गर्दै पुनः सञ्चालनका लागि आवश्यक वातावरण बनाउन प्रयासरत रहेको पनि पत्रमा उल्लेख छ। यस प्रक्रियामा भएका ढिलाइका कारण रिसोर्ट पुनः सञ्चालनमा केही समय लागेको भए पनि समस्या समाधानतर्फ सकारात्मक प्रगति भइरहेको दाबी गरिएको छ।
पत्रमा पोखरा उद्योग वाणिज्य संघले स्थानीय व्यवसायिक वातावरण सुधार र निजी क्षेत्रको हितमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस विषयमा पनि आवश्यक समन्वय, मार्गदर्शन र सहजीकरणको अपेक्षा गरिएको छ।





