कास्कीमा बजार अनुगमन, भण्डारी रेष्टुरेन्टलाई ५० हजार जरिवाना

-


     क्लिक गण्डकी     
     असार २२ गते २०८३ मा प्रकाशित


पोखरामा बजार अनुगमनः ११ व्यवसायी कारबाही, तीन लाख रुपैयाँ जरिवाना

बजार अनुगमन

पोखरा, २२ असार/ जिल्ला अनुगमन समिति, कास्कीको टोलीले अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित हाम्रो भण्डारी रेष्टुरेण्ट एण्ड खाजाघरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

टोलीले अनुगमन गर्दा सरसफाइमा नभएको, मूल्यसूची नराखिएको, नापतौलका सामग्री नवीकरण नगरेको, जथाभावी फोहोर फालेको पाइएपछि जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

भूपि शेरचन राजमार्गअन्तर्गत अन्नपूर्ण–२, ढिकुरपोखरीमा रहेको रेष्टुरेण्टमा खाना तथा खाजा खानेहरुको भीड लाग्ने गरेको भएता पनि सरसफाइ नभएकाले कारबाही गर्नुपरेको बरालले बताए । रेष्टुरेन्टका संचालक मनहरि भण्डारीलाई एक हप्ताभित्र व्यवसायसम्बन्धी सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ ।

त्यसैगरी, सोही स्थानको पञ्चासे भ्यू पोइन्ट एण्ड रातामाटे खाजाघरमा लेवल नभएका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, मूल्यसूची राख्न, व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको छ ।

यस्तै, स्थानीय माउण्टेन भ्याली रेष्टुरेन्टलाई मूल्यसूची राख्न, पेसा व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिइएको छ ।

ढिकुरपोखरीकै चुइने पहरा खाजाघरमा मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन र व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको छ ।

यता, पोखरा–५, मालेपाटनस्थित हाउस अफ बेकरीमा अनुगमन गरी उत्पादित केही बेकरीमा उत्पादन र उपभोग्य मिति नभएको पाइएकाले तुरुन्त उपभोग्य मिति र उत्पादन मिति राख्न निर्देशन दिइएको छ ।