पोखरामा बजार अनुगमनः ‘घीउ’ भनी बिक्री गर्ने जेनिसा केमिकल उद्योगलाई ५० हजार जरिवाना

-


     क्लिक गण्डकी     
     असार १९ गते २०८३ मा प्रकाशित


पोखरामा बजार अनुगमन श्रीकृष्ण मारवाडीलाई ५० हजार जरिवाना

पोखरामा बजार अनुगमन

पोखरा, १९ असार/ पोखरा–१७, घारीपाटनस्थित जेनिसा केमिकल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पार्ने केमिकल प्रयोग गरी ‘घीउ’ भनी बजारमा बिक्री गर्दै आएको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

बिहीबार जिल्ला अनुगमन समिति, कास्कीले उद्योगमा अनुगमन गरेको थियो । अनुगमन टोलीले उद्योगमा रहेका घीउजस्तो तीन÷चार कार्टुन फ्लेवरका डब्बाहरु नष्टसमेत गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उक्त उद्योगलाई तत्काल बिक्री वितरणमा रोक लगाउँदै उद्योग सञ्चालक रेशम सुबेदीलाई ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यसैगरी, पोखरा–१७, घारीपाटनकै विजय फ्रेस बेकरी उद्योगलाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

उक्त कम्पनी सरसफाइ नभएको, उद्योग नवीकरण नगरेको लेवल नभएका खाद्यबस्तु भेटिएकाले कम्पनी बन्द गरी सरसफाइ गरेपछि मात्र सञ्चालनमा गर्न निर्देशन दिइएको छ ।

कम्पनीका सञ्चालक सोमनाथ अधिकारीलाई सम्पूर्ण काजगजातसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसैगरी, हिमालय आँखा अस्पताल, घारीपाटनको क्यान्टिनमा पनि अनुगमन गरियो । क्यान्टिनमा आवश्यक सरसफाइ गर्न तथा उपभोग्य मिति सकिएका खाद्यबस्तु हटाउन अनुगमन टोलीले निर्देशन दिएको छ । टोलीले पोखरा नयाँबजारस्थित एसआर प्याकेजिङमा अनुगमन गरी त्यहाँ रहेको घीउजस्तो पदार्थ नष्ट गरेको छ ।

यसैगरी, चिप्लेढुंगास्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा पनि अनुगमन गरी त्यहाँ रहेको उपभोग्य मिति सकिएका बस्तु नष्ट गर्नुको साथै स्टोर्सका कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन संचालकलाई निर्देशन दिइएको छ ।

अनुगमन टोलीले बिहीबार मात्रै पोखराका विभिन्न १६ उद्योग तथा पसलहरुमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

अनुगमनमा सहायक प्रजिअ बरालसहित पोखरा महानगरपालिक उपप्रमुख मञ्जुदेवी गुरुङ, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च कास्की, सञ्चारकर्मी लगायत सहभागी थिए ।