
पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक जना गम्भीर घाइते
पोखरा, ८ असार/ पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्।
राति करिब ११ः२० बजे हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको छ । टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका–९ घर भई हाल काठमाडौं मुलपानी बस्दै आएकी १७ वर्षीया रबिना ढुङ्गेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





