गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

-


     क्लिक गण्डकी     
     असार १ गते २०८३ मा प्रकाशित


गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

पोखरा, १ असार/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३३ अर्बको बजेट ल्याएको छ । सोमबार प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष १२ अर्ब ७२ करोड (३८.५६%), पुँजीगततर्फ २० अर्ब २ करोड अर्थात ६०.६८ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरे ।

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ८४ करोड, राजस्व बाँडफाँटमा १० अर्ब १६ करोड, रोयल्टी ५१ करोड, समपुरक अनुदान ५५ करोड, विशेष अनुदान ३९ करोड अनुमान छ । प्रदेशले ५ अर्ब ८४ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य क्षेत्रको विकासका लागि ३ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक जनस्वास्थ्य तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ६ करोड, नवलपुरको मध्यबिन्दु प्रादेशिक अस्पताल र गोरखा अस्पतालमा सीटी स्क्यान मेसिन खरिद गर्न १० करोड, र एम्बुलेन्स खरिद गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसका साथै, गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार सेवाका लागि ६ करोड ६० लाख, महामारीको पूर्व तयारी र प्रतिकार्यका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराइनेछ ।
त्यसै गरी कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको विकास र सुधारका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उनले प्रदेशको पहाडी क्षेत्रको २ हजार ५ सय हेक्टर जमिनमा ओखर, म्याकाडेमिया नट, किवी, स्याउ, सुन्तला र एभोकाडो लगायतका फलफूलका व्यावसायिक बगैँचा विस्तार गर्न ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

यसैगरी, कृषि क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न रिटर्न टु भिलेज अभियान घोषणा गरिएको छ । कृषि कर्जाको ब्याज अनुदान, न्यूनतम समर्थन मूल्य कार्यान्वयन र व्यावसायिक कृषि प्रवर्धनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले रैथाने नेपाली रोपौं, स्वास्थ्य र पर्यावरण बचाऔुं अभियानमार्फत स्थानीय बाली र पशुपन्छीको संरक्षण गर्ने नीति लिएको छ ।

त्यसै गरी गण्डकी प्रदेशको अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने अनुमान सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्र आधारभूत मूल्यमा ३.८७ प्रतिशतले विस्तार हुने अनुमान रहेका बेला गण्डकी प्रदेशको अर्थतन्त्र भने ४.८३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ५ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान छ ।

यसैगरी चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १ हजार ६ सय ५१ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो राष्ट्रिय औसत प्रतिव्यक्ति आय भन्दा बढी हो । राष्ट्रिय औसत आय १ हजार ५ सय ३५ अमेरिकी डलर छ ।



Tags: