रास्वपा गण्डकीको सभापतिमा नबिन त्रिपाठी बिजयी

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८३ मा प्रकाशित


नबिन त्रिपाठी

नबिन त्रिपाठी

पोखरा, ३० जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नबिन त्रिपाठी निर्बाचित भएका छन् । शुक्रबार राति करिब ११ बजेतिर शुरु भएको मतदान अन्तर्गत शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार अध्यक्षमा त्रिपाठी अत्यधिक मतका साथ बिजयी भएका हुन् ।

रास्वपा गण्डकीको सभापति बन्न नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा उत्रिएका थिए । चार आकांक्षीमध्ये गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति र त्रिपाठी महासचिव हुन् । कँडेल २०७९ मा भएको प्रनिनिधि सभामा कास्की क्षेत्र नम्बर २ का उम्मेद्वार थिए । कार्की वैकल्पिक राजनीति र अटेरी अभियानमा सक्रिय थिए।

मतगणनाको परिणाम अनुसार सभापतिमा नबिन त्रिपाठीले २ सय ३४ मत, राजन गौतमले १ सय ८२ मत, माधव कंडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरे । कार्कीले अन्तिम समयमा उमेद्वारी फिर्ता लिएका थिए । सभापतिमा बिजयी हुने उमेदवारले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेको कारण दोश्रो चरणको मतदान हुने अपेक्षा गरेका अधिकांश मतदाताको अनुमानलाई चिर्दै त्रिपाठीले पहिलो चरणमा नै ५० प्रतिशत मत कटाएर सभापतिमा विजयी बने ।

यस्तै गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए। जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १र१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेद्वारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएका छन् ।

प्रदेश सदस्यका लागि ५१ आकांक्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मीना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपांगता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको अधिवेशनमा ७ सय ८० प्रतिनिधि छन् ।