पोखरा बसपार्कका सुकुमबासी सार्न पोखराका ६ ठाउँ प्रस्ताव

-


     क्लिक गण्डकी     
     जेठ २२ गते २०८३ मा प्रकाशित


पोखरा बसपार्कका सुकुमबासी सार्न पोखराका ६ ठाउँ प्रस्ताव

पोखरा बसपार्कका सुकुमबासी सार्न पोखराका ६ ठाउँ प्रस्ताव

पोखरा, २२ जेठ/ पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन गर्न पोखरा महागनरलाई ६ ठाउँको जग्गा सिफारिस भएको छ । जग्गा खोजी समितिले बिहीबार मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो ।

समितिले ६ वटा ठाउँ प्रस्ताव गरिएको हो । पोखरा ११, रामघाटस्थित पुन समाजले चर्चेको ४६ रोपनी पर्ति जग्गा व्यवस्थापनका लागि उपयुक्त देखिएको समितिले सिफारी गरेको छ ।

त्यस्तै, वडा १४, बाच्छे बुडुवा खेलमैदान र भेडी फार्म क्षेत्रको २४८ रोपनी जग्गा, पोखरा १५, मजुवास्थित ९९ रोपनी, वडा २१, दोबिल्लास्थित ४३० रोपनी र वडा २५ को ८९३ रोपनी जग्गा सुकुमबासी व्यवस्थापनका लागि उपलब्ध हुन सक्ने सम्भाव्यता समितिले औंल्याएको छ ।

वडा १७ को प्रगति टोलस्थित २३ रोपनी जग्गामा भने हाल केही सुकुमबासीहरू बसोबास गरिरहेका छन् । बाँकी खाली जग्गामा पनि थप व्यवस्थापन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । पहिलो प्रस्तावमा वडा ११, रामघाट क्षेत्रमा रहेको जग्गा छ । पुन समाजले चर्चेको करिब ४६ रोपनी पर्ति जग्गामा सुकुमबासी स्थानान्तरण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

सेती नदीको ३० मिटर मापदण्डले समेत नछुने भएकाले सोही जग्गामा सुकुमबासी सार्न सकिने सिफारिस गरिएको छ । पानी, बिजुली सडक लगायत पूर्वाधार समेत पुगिसकेको छ ।

पोखरा वडा १४, भेडीफर्मको २४८ रोपनी जग्गा पनि बस्ती बसाल्न उपयुक्त देखिएको समितिको प्रतिवेदन छ । बाच्छेबुडुवा र भेडीफर्मसमेत गरेर केही सुकुमबासी परिवार यहाँ सार्न सकिने उल्लेख छ । यहाँको जग्गा खाली छ । यहाँ पनि सडक, बिजुली र पानीको उपलब्धता छ । पर्याप्त जग्गा भएकाले बसपार्कसँगै फिर्के कोरिडोरका सुकुमबासीलाई पनि यहाँ स्थानान्तरण गर्न सकिने प्रतिवेदनमा छ ।

वडा १५ को मजुवालाई पनि उपयुक्त विकल्पको रुपमा अघि सारिएको छ । यो ठाउँमा ९९ रोपनी जग्गा छ । त्यसमध्ये केही प्रदेश प्रहरीको स्वामित्वको जग्गा छ भने बाँकी भागको पुनर्रेखाङ्कन गर्नुपर्ने अवस्था छ ।

वडा १७ को प्रगति टोल पनि सुकुमबासी स्थानान्तरणका लागि उपयुक्त हुने सिफारिस छ । यो ठाउँमा करिब २३ रोपनी जग्गा छ । त्यसमध्ये केही हिस्सामा बसोबास भइरहेको र केही खाली रहेको समितिले जनाएको छ ।

वडा २१, दोबिल्लामा झन् धेरै जग्गा खोजी गरिएको छ । यहाँ ४३० रोपनी प्रयोग गर्न मिल्नेखालको छ । केही भाग मापदण्डमा परे पनि धेरैजसो भाग व्यवस्थापनका लागि उपयुक्त रहेको समितिको निष्कर्ष छ । वडा २५, हेमजाको करिब ८९३ रोपनी पनि स्थानान्तरणका लागि उपयुक्त हुने ठहर समितिको छ । बगर भएकाले यहाँ हाल खेती भइरहेको छ ।

महानगरपालिकाले वर्षौंदेखि विभिन्न सार्वजनिक पर्ती र सरकारी जग्गामा बसोबास गर्दै आएका सुकुमबासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरुको व्यवस्थापनका लागि नयाँ विकल्पको खोजी गरेको हो ।

यसैका लागि १० दिनअघि वडा १७ का अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा ७ सदस्यीय जग्गा खोज्न समिति गठन भएको थियो । तत्कालका लागि महानगरले बसपार्क र फिर्के करिडोर क्षेत्रका ६ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ आवश्यक जग्गा पहिचान गरी प्रतिवेदन तयार पारेको छ ।

समितिमा वडा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, १४ का अध्यक्ष बोधराज कार्की, २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा पोखराका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका अधिकृत टीकाराम बजगाईं (सदस्य सचिव) थिए ।