
फेवातालमा म्यागजिन सहितको एसएलआर राईफल भेटियो
पोखरा, १ फागुन/ पोखराको फेवातालमा माछा मार्ने क्रममा १ थान एसएलआर राईफल र त्यसमा लोड भएको १८ राउण्ड गोली सहितको म्यागजिन फेला परेको छ ।
बिहीबार साँझ स्थानीय ४२ वर्षीय कुमार जलारीले तालमा माछा मार्नका लागि तालमा जाल हान्ने क्रममा हतियार फेला पारेका हुन् ।
सोही क्रममा जालमा केही भारी वस्तु अड्किएपछि तान्दा हतियार निस्किएको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियारमा मु वा १११ (बट) नम्बर र बडी नम्बर १३८१० उल्लेख गरिएको छ । जालमा हतियारसँगै सोही हतियारमा लोड हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन पनि फेला परेको छ ।
तालमा हतियार फेला परेको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।






