मदरल्याण्ड माविको त्रिवसीय कार्यक्रमः विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

-


     क्लिक गण्डकी     
     माघ २४ गते २०८२ मा प्रकाशित


मदरल्याण्ड माविको त्रिवसीय कार्यक्रमः विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

मदरल्याण्ड माविको त्रिवसीय कार्यक्रमः विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

पोखरा, २३ माघ/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो ।

विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । त्यस्तै राष्ट्रिय शिक्षा पुरस्कार पाएका विद्यालयका सामाजिक विषय शिक्षक गुरुदत्त शर्मा दवाडीलाई पनि त्यही अवसरमा विशेष सम्मान गरिएको थियो ।

शिक्षकबाहेक राष्ट्रिय परीक्षा बोर्डले गतवर्ष लिएको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पनि शुक्रबार नै सम्मान गरिएको छ । १२ कक्षाको परीक्षामा ३.९ देखि ३.९६ जिपिएसम्म अंक ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यसैगरि इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति पाएका सहित मेडिकल शिक्षातर्फ एमबिबिएस र बिडिएस सहित बिबिएका प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएर छात्रवृत्ति पाउन सफल विद्यार्थीलाई पनि त्यही अवसरमा सम्मान गरिएको प्राचार्य बरालले बताए । उनका अनुसार अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान ओगट्दै आएकी छात्रा अदिति पराजुली र खेलकुदमा अब्बल छात्रा दिलाशा रानालाई पनि त्यही अवसरमा सम्मान गरिएको थियो ।

विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । दोश्रो दिनको कार्यक्रमको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए । विद्यार्थी र विद्यालयको अथक मेहनतले विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट हात पार्दै आएको आचार्यले बताए । ‘मदरल्याण्डले हासिल गरेको रिजल्ट समग्र पोखराको शैक्षिकस्तरको प्रतिनिधित्व गरेको छ । पोखरालाई शैक्षिक गन्तव्य बनाउनका लागि यस्तै रिजल्टले सघाउने हो,’ उनले भने ।

विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाएका छन भने शनिबार ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् ।

विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि वार्षिक सांस्कृतिक कार्यक्रम तथा कला प्रदर्शनी गरिएको प्राचार्य बरालले जानकारी दिए । ‘विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नराखि उनीहरुमा रहेको आत्मविश्वास र क्षमतालाई बाहिर देखाउनका लागि पनि यस्ता कार्यक्रम जरुरी छन्,’ बरालले भने, ‘स्टेजमा कार्यक्रम पस्किदा एक किसिमको सिकाई विद्यार्थीमा देखिनेछ । त्यो सिकाईलाई अर्काे विद्यार्थीले उपयोग गर्नेछ ।्

कक्षा कोठामा मात्र नभई बाहिर पनि क्षमता देखाउने अवसर विद्यालयले विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने उनले बताए । विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आएको पनि प्राचार्य बरालले बताए । अभिभावक, शिक्षक र विद्यार्थीको अथक मेहनतले विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट पस्कन सकेको उनले बताए ।

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यालयले हात पारेको यो सफलताका लागि सानो मेहनतले नभएको बताए । ‘विद्यालयलाई उत्कृष्ट बनाउनका लागि सबैजना लागेका छौ । अभिभावक र शिक्षक सहित विद्यार्थीको भूमिका पनि रहेको छ,’ शर्माले भने, ‘समाजले विद्यालयलाई संरक्षण ग¥यो, त्यसैको परिणामस्वरुप देशभित्रै गर्व गर्न लायक विद्यालय बनेको छ । यसले हामीलाई अझै जिम्मेवारबोध बनाएको छ ।’

प्रमुख अतिथि आचार्य, विद्यालय संचालक समितिका अध्यक्ष प्रेमनारायण पोखरेल, विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा बराल, प्लस टु इन्चार्ज नारायण आचार्य, प्राचार्य डा. नारायण बराल सहितले विद्यार्थीलाई सम्मान गरेका थिए । पहिलो दिनको कार्यक्रममा विहीबारदेखि नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीले विभिन्न कार्यक्रम पस्केका थिए । नाटक, योगा तथा अन्य सांस्कृतिक कार्यक्रम पनि उक्त अवसरमा विद्यार्थीले पस्केका थिए ।