बादल हत्या काण्डः सर्वोच्च अदालतले ४ जनालाई जन्मकैदको फैसला

-


     क्लिक गण्डकी     
     माघ २० गते २०८२ मा प्रकाशित


हत्गढी

पोखरा, १९ माघ/ सर्वोच्च अदालतले लेखनाथमा भएको रामजी पौडेल बादल हत्या काण्डमा सरकारी पक्ष र प्रतिवादी दुवै तर्फको पुनरावेदन माथि अन्तिम फैसला सुनाएको छ ।

न्यायाधीशद्वय डा कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ चैत १७ मा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पोखराको फैसला आंशिक उल्ट्याएको छ ।

२०७२ साउन २८ गते राति पोखरा ३० गगनगौंडामा कांग्रेस कार्यकर्ताबीचको आन्तरिक विवादमा पौडेलको हत्या भएको थियो ।
उच्च अदालतले केही प्रतिवादीलाई सफाइ दिएको र केहीलाई कम सजाय तोकेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सर्वोच्चले सरकारको दाबीलाई सदर गर्दै उच्च अदालतबाट सफाइ पाएका र कम सजाय पाएकालाई समेत जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले मुख्य अभियुक्तहरू प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट र रबिन केसीलाई ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको छ ।

यसअघि उच्च अदालत पोखराले विश्वास गौतमलाई सफाइ दिएको थियो भने राजु रानाभाटलाई ५ वर्ष र रविन केसीलाई १ वर्षमात्र कैद तोकेको थियो । सर्वोच्चले उनीहरू तीनै जनालाई जन्मकैदको भागिदार बनाएको छ । प्रकाश गुरुङको हकमा भने यसअघिको जन्मकैदको फैसला नै सदर भएको छ ।