पोखरामा राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

-


     क्लिक गण्डकी     
     मंसिर २ गते २०८२ मा प्रकाशित


पोखरामा राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

पोखरामा राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

पोखरा, १ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा रास्ट्रिय कर दिवस २०८२ पोखरामा विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ। नेपालमा मूल्य अभिवृद्धि कर भ्याट लागू गरिएको दिनको स्मरणमा प्रत्येक वर्ष मंसिर १ गते कर दिवस मनाइने हुँदै आएको छ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासमा निजी क्षेत्र महत्वपूर्ण हिस्सेदार भएको उल्लेख गर्दै करमैत्री वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन्। उनले निजी क्षेत्रलाई व्यवसायिक वातावरण तयार गर्न र मनोबल मजबुत बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले कर सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै करको दायरा थप विस्तार गरिने बताए। उनले आर्थिक ऐन २०८२ ले उपलब्ध गराएका छुट तथा सुविधा समयमै उपयोग गर्न करदातालाई आग्रह गरे।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्‍जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रालि लाई सम्मान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्त सम्म व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ रहेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् ।

पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ । जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ ।

अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले विलाशिता शुल्क वापत ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो ।