
पोखरामा जेनजी आन्दोलनमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
पोखरा, २४ कात्तिक/ जेन जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी गरी फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
भदौ २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीका क्रममा प्रहरी कार्यालयमा राखिएको सवारी साधन चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले खोजी गर्दा दुई जनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की अगाडि पार्किङ गरी राखिएको प्रहरी कर्मचारीको मोटरसाइकल ग ६ प २०६१ नम्बरको चोरी गरी चलाइरहेको अवस्थामा दुई जना व्यक्तिलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने ३६ वर्षका विश्वराज परियार र पोखरा महानगरपालिका–१३ शान्तिटोल बस्ने ३२ वर्षका देबकुमार लोदिया रहेका छन्।
उनीहरूलाई २०८२ कार्तिक २१ गते दिउँसो करिब ३ बजे पर्स्याङ क्षेत्रबाट चोरी गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनीहरूविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।





