
स्याङ्जाका पचास मध्ये अधिकांश होमस्टे बन्द
स्याङ्जा, २३ भदौ/ २८ बर्षअघि स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुबारीमा २०५४ सालमै नेपालकै पहिलो ग्रामीण पर्यटन (होमस्टे) को सुरुवात गरियो । नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो मानिएको होमस्टेसँगै परिचत सिरुबारी ग्रामीण पर्यटनको पाठशालामा रुपान्तरण बन्न सफल भयो ।
ग्रामीण पर्यटनका नायक क्याप्टेन स्वर्गिय रूद्रमान गुरुङ्को परिकल्पनामा स्थापित सिरुबारी सामुदायिक होमस्टे (घरबास) देशबिदेशमा सधै चर्चामा छ । सिरुबारी जत्तिकै चर्चा हुने होडमा होमस्टेको सुरुवात भएदेखि हालसम्म जिल्लामा ५० वटा होमस्टे दर्ता भएको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लका ११ स्थानीय तहमा दर्ता भएर संचालनमा रहेका भनिएका अधिकांश होमस्टे पछिल्लो समयमा गुमनाम जस्तै छन् तर सिरुबारीको भने उस्तै चर्चा छ । मन्त्रालयमा ५० होमस्टे भएपनि जिल्लास्थित उद्योग तथा पर्यटन कार्यालयमा १७ वटा होमस्टेले मात्रै अद्यावधिक गरेका छन् ।
गण्डकी प्रदेश पर्यटन मन्त्रालयका अनुसार गल्याङ् नगरपालिकामा १७, पुतलीबजार नगरपालिका ८, वालिङ नगरपालिकामा ७, फेदीखोला गाउँपालिकामा ५, आँधीखोला गाउँपालिकामा चार, कालीगण्डकी गाउँपालिकामा तीन, भीरकोट नगरपालिकामा दुई, अर्जुनचौपारी, बिरुवा, चापाकोट र हरिनास गाउँपालिकामा एक÷एक वटा होमस्टे दर्ता भएका छन् ।
पर्यटन मन्त्रालय गण्डकीले ग्रामीण क्षेत्रका सम्भावनालाई उजागर गर्दै पर्यटनको विकासमा होमस्टेको प्रबद्र्धन र व्यवस्थित गर्दै आएको थियो । स्वरोजगार, आयआर्जन र समृद्धिमा योगदान पु¥याउने उद्देश्यले २०७५ मा मन्त्रलयले पूर्वाघार निर्माण, सडक निर्माण गरेकै एक बर्षमा ४१ वटा होमस्टे स्थापना भए भने २०७५ पश्चात ७ वर्षमा छ वटा मात्रै होमस्टे निर्माण भएका थिए ।
जिल्लामा पुतलीबजारको हुनिकोट, कोल्मा र खर्सु, फेदिखोलाको रामकोट र अयरपानी, वालिङको सुन्तलाबारी, कालीगण्डकीको लालीगुराँस, अर्जुनचौपारीको लामडाँडा प्रचारसँगै सञ्चालनमा रहेका छन् भने गल्याङ र भीरकोट समेतका सबै होमस्टेहरु गुमनाम र बन्द छन् ।
सडक, खानेपानी, बिजुली, इन्टरनेट जस्ता आधारभूत सुविधाको अभाबमा अधिकांश होमस्टे बन्द भएको बताईन्छ । प्रचारप्रसारको कमि, घरबास संचालन गर्ने व्यावसायिक सिपको अभाबले केहि होमस्टे बन्द भएको मन्त्रालयको भनाई छ । नयाँ पुस्ताको बिदेश मोह, स्थानीय समुदायको सहकार्यमा अनइच्छा हुँदा धेरै होमस्टेहरू बन्द हुन बाध्य भएका छन् ।
ग्रामीण कलासस्कृति र खानेकुरा (स्थानीय स्वाद) हराउदै जानु तथा बजारको खानेकुरा खुवाउँदा होमस्टेमा पर्यटकको आर्कषण घटेको र बन्द हुँदै गएको पर्यटन व्यवसायका जानकार अनन्त श्रेष्ठको बुझाई छ । सिरुवाबारी होमस्टे स्थापना भएको १८ वर्षपछि २०७२ सालमा फेदिखोला–५ मा बौद्ध सामुदायिक होमस्टे स्थापना भएको र २०७३ सालदेखि संचालनमा आएको हुनिकोट होमस्टे निरन्तर संचालनमा रहेपनि अधिकांश होमस्टे गुमनाम र बन्दनै छन् ।





