
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १९ भदौ/ कास्की प्रहरीले पोखराका विभिन्न खाजाघरमा छापा क्रम अगाडी बढाएको छ ।
बागलुङ बसपार्कका १९ र नालाको मुखस्थित १ गरी २० खाजाघर संचालकलाई केही दिनअघि पक्राउ गरेको प्रहरीले पोखरा–८, जाल्पारोडका खाजा घरमा पनि छापा मारेको छ ।
जाल्पारोडका विभिन्न खाजाघरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको भन्ने सूचना आधारमा प्रहरी टोलीले खाजाघरका ११ जना महिलाहरूलाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाइएको जनाएको छ ।
यस्तै, अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जना खाजा घर सञ्चालकहरूलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा चितवन घर भई हाल पोखराको जाल्पारोड बस्ने वर्ष २८ की सुनिता तामाङ, तनहुँ व्यास ८ घर भई हाल पोखराको सृजनाचोक बस्ने वर्ष १९ को सुवास गुरुङ, बागलुङको जैमनी ८ घर भई हाल पोखराको न्यूरोड बस्ने वर्ष २१ को सागर थापा मगर र जैमनी घर भई पोखरा न्यूरोड बस्ने वर्ष २१ को शंकर थापा हुन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ७ म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको हो ।





