पोखराबाट अस्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्सको तयारी, भुटान पनि उडान हुने

-


     क्लिक गण्डकी     
     भाद्र १२ गते २०८२ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, १२ भदौ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । सिचुवान एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने उनले बताए । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो ।

त्यसै गरी भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि पाँच वटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए ।

भूटान एयरलाइन्सले सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ । भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो ।

भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने उनले बताए । अहिले हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्हासा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ ।