
विद्यालयका अध्यक्षलाई कालोमोसो दल्ने ३ पक्राउ
पोखरा, ३१ असार/ पोखराको छोरेपाटन माध्यमिक विद्यालयका अध्यक्ष बद्रीनाथ पहारी माथि कालोमोसो दलेको अभियोगमा प्रहरीले ३ जना पक्राउ गरेको छ । असार २७ गते बिहान पौने ९ बजेको समयमा छोरेपाटनमा ६७ वर्षीय पहारीमाथि २ व्यक्तिहरुले कालोमोसो दली दिएर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो घटनामा संलग्न रहेको अभियोगमा घटना भएकै दिन ३५ वर्षीय सुजन आयाम भन्ने लोकेन्द्र विश्वकर्मा पक्राउ परेका थिए । नेपाल कम्युनिष्ट पाटी बहुमतका ब्यूरो केन्द्रीय सदस्यसमेत रहेका ३५ वर्षीय आयामको स्थायी ठेगाना बझाङ भए पनि हाल पोखराको औद्योगिक क्षेत्र बस्दै आएको बताइएको छ ।
घटनाका मुख्य योजनाकार भनिएका उनलाई प्रहरीले पोखरा ९, नयाँबजारबाट नियन्त्रणमा लिएको हो । यस्तै, प्रहरीले अछाम जिल्ला बानियागढी गाउँपालिका ५ घर भइ हाल पोखरा १४, औद्योगिक क्षेत्र बस्ने २६ वर्षीय राजन सायद र बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका २ घर भइ हाल पोखरा ५, पस्र्याङ बस्ने १८ वर्षीय बासुदेव बुढालाई नियन्त्रणमा लिएको जनाएको छ ।
तीमध्ये साजन नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकीका संयोजक हुन् भने अर्का बासुदेव नेपाल क्रान्तिकारी विद्यार्थी संघ कास्की संयोजक हुन् । उनीहरु दुवैजना भौतिक रुपमा उपस्थित भई कालोमोसो दल्ने कार्यमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ ।
पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसूरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २५३ आपराधिक लाभ लिन नहुने कसूरमा समेत जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान थालिएको छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा सहयोग रसिद काटिएको कैयाँ अर्धकट्टीहरु समेत बरामद गरेको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जनाए ।





