
शव
पोखरा, २३ बैशाख/ पोखरा–१७ बिरौटाका ५५ वर्षीय ऋषिराम बरालले ३७ वर्षीय श्रीमती देवी पराजुली बरालको हत्या गरेपछि आत्महत्या गरेका छन् ।
सोमबार दिउँसो घर झगडा भएपछि ऋषिरामले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि आफूलाई पनि प्रहार गरेको र विष सेवन गरेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
श्रीमतीको अनुहारमा धारिलो हतियारको चोट देखिएको छ भने श्रीमानको पनि घाँटीमा धारिलो हतियारको चोट र विष सेवन गरेको अवस्थामा भेटिएको थियो । प्रहरीले उनीहरू दुबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको थियो ।
घटना भएको घरको बाथरूममा एउटा र बाहिर ढोकामा एउटा गरी २ वटा रगताम्म अवस्थामा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको प्रहरीले जनाएको छ । घरझगडा भएपछि उक्त घटना भएको छ ।
बिरौटास्थित घरमा भएको उक्त घटनामा दुबै जना रगताम्मे अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार श्रीमान र श्रीमती निरन्तर झगडा भइरहने गरेको जनाएको छ।
जेठी श्रीमती भने पोखरा ७ मासबार अर्को घरमा बस्दै आएकी छिन् । सोमबार ऋषिरामले जेठी श्रीमतीलाई भेटेर फेसबुकमा भिडिओ पोष्ट गरेको देखिएको प्रहरीले जनाएको छ। जेठी श्रीमतीसँग भेटेको विषयमा यसअघि पनि बारम्बार झगडा हुने गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ।





