
पोखरा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
पोखरा, ६ फागुन/ पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ । गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो । प्रहरीले सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखरा महानगरका मेयर आचार्य अझै अस्पतालमै उपचार रहेका छन् ।
हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पु¥याएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ ।
घटनाको छानबिन गर्न गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएका छन् ।







