
नेपाल पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २६ माघ/ पाउहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई हराउदै नेपाल पुलिस क्लब २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले पराजित गरेको हो । हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।
खेलको २७ औ मिनेटमा विवेक पाण्डेले कर्नरबाट सिधै गोल गरे । उनले हानेको कर्नर सेकेण्ड बारमा लाग्दै गोल भएको हो । यसअघि पहिलो खेलमा पनि सहारा विरुद्ध पुलिसका उज्वल राईले कर्नरमै गोल गरेका थिए ।
त्यसै गरी खेलको ४० औ मिनेटमा पुलिसले गोल गर्दै अग्रता दोब्बर पारेको छ । विवेक पाण्डेको कर्नरमा कप्तान राम वाजीले हेड गर्दै गोल गरे । पुलिस २०७७ सालपछि पहिलो पटक पोखरामा सेमिफाइनल पुगेको हो ।
पुलिसले अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीच विजेतासँग खेल्नेछ । आइतबार मछिन्द्र फुटबल क्लब र थ्रीस्टार क्लब बिच खेल हुनेछ ।





