आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस

-


     क्लिक गण्डकी     
     माघ १७ गते २०८१ मा प्रकाशित


आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस

आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक, उद्घाटनमा आयोजक र नेपाल पुलिस

पोखरा, १७ माघ/ २४ औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल पुलिस क्बल बिच उद्घाटन खेल हुने भएको छ ।

२४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार टाइसिट सार्वजनिक गर्दै यी दुई टिम भिड्ने पक्का भएको हो । १२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले भाग लिँदै छन् ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ । फागुन ३ मा हुने फाइनल अघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुनेछ । समूह ‘ए’ तर्फ आयोजक सहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।

तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।

प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको छ । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् ।

आहारारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।



Tags: