श्रीपती समाजसेवा पुरस्कारबाट डा.रुइत र पत्रकारिता पुरस्कारबाट कार्की सम्मानीत

-


     क्लिक गण्डकी     
     पौष २१ गते २०८१ मा प्रकाशित


श्रीपती समाजसेवा पुरस्कारबाट डा.रुइत र पत्रकारिता पुरस्कारबाट कार्की सम्मानीत

श्रीपती समाजसेवा पुरस्कारबाट डा.रुइत र पत्रकारिता पुरस्कारबाट कार्की सम्मानीत

पोखरा, २१ पुस /श्रीपती समाजसेवा पुरस्कार–२०८१ बाट डा. सन्दुक रुइत सम्मानित भएका छन् । शनिबार श्रीपती कोइराला गुठी पोखराको ३२ औं वार्षिक साधारण सभा अवसरमा सो पुरस्कारबाट डा. रुइतलाई सम्मान गरिएको हो ।

पुरस्कार राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित दोसल्ला, सम्मानपत्र र पदकले सम्मान गरे । ‘दृष्टिका देवता’ समेत भनेर चिनिने उनी तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक हुन् ।

कम लागतमा मोतियाबिन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्दति रुईतेक्तोमिताका सुरुवातकर्ता समेत रहेका उनले हालसम्म १ लाख ३० हजारभन्दा बढी मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरेर दृष्टि फर्काइसकेका छन् ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । डा. रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाजसेवाका लागि अभिप्रेरित गरेको बताए ।

सो अवसरमा सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भए । उनलाई नगद २२ हजार २२२ राशिसहित दोसला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

पोखरा न्यूरोड निवासी कार्कीले पत्रकारिता माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गरेको गुठीले जनाएको छ ।

२०२९ सालमा राससबाट पत्रकारिता सुरु गरेका उनी समाधान दैनिकको प्रधान सम्पादक, बिबिसी नेपाली सेवा गण्डकी प्रदेश ब्यूरो प्रमुख भै काम गरिसेको छन् ।