पोखरामा सावर बन्जी सञ्चालनमा

-


     क्लिक गण्डकी     
     चैत्र २८ गते २०८० मा प्रकाशित


पोखरामा सावर बन्जी सञ्चालनमा

पोखरामा सावर बन्जी सञ्चालनमा

पोखरा, २८ चैत/ पोखरामा साहसिक खेल सेवा प्रदायक कम्पनी हाइग्राउण्ड एड्भेन्चरले सावर बन्जी सञ्चालनमा ल्याएको छ । पोखरा २५ हेम्जामा बन्जी, जिपलाइन, स्वइङ लगाएतका विभिन्न खेल सेवा दिंदै आएको कम्पनीले करिब ५० लाख रुपैयाँको थप लगानीमा सावर बञ्जी संचालनमा ल्याएको हो ।

नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्न गरेको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले जानकारी दिए । उनले सावर बञ्जी पर्यटकलाई रमाईलो प्रडक्ट हुने बताए ।

सावर बञ्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने छन् । बञ्जीको क्रममा ८२ मिटर माथिबाट हाम फालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् ।

सावर बन्जी गर्न चाहनेले ६ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यसमा लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायात सुविधा, फोटो, भिडियो र टिसर्ट उपलब्ध गराउने उनले बताए ।

कम्पनीमा महर्जनका सहित शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवालको लगानी छ । हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ पोखरामा सेवा दिदै आएको छ । कम्पनीले पोखरामा साहसिक खेलमा ५० करोड लगानी गरेको उनले बताए ।

एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सक्ने कम्पनीले जनाएको छ । आगामि दिनमा थप साहसिक पर्यटनका क्षेत्रमा लगानी बढाउने योजनामा कम्पनि रहेको जनाएको छ ।

सावर बन्जीको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनाराण श्रेष्ठले पोखरामा साहसिक पर्यटकीय गतिविधि बढाउन सहयोगी हुने बताए ।