
पोखरामा आज चिनियाँ ड्रागन बोट रेस फेस्टिभल शुरु
पोखरा, ७ चैत/ बेगनासतालमा चैत ११ र १२ गते ड्रागन बोट रेस हुने भएको छ । फागु पूर्णिमाको अवसरमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने भएको हो । प्रतियोगिता अन्तर्गत २ विधामा प्रतिस्पर्धा हुनेछ ।
५ सय मिटर र २ सय मिटर दुरीमा बोटरेस हुने होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।
५ सय मिटर दौडको विजेताले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ भने दोस्रोले १ लाख २० हजार पाउने छ । तेस्रो र सान्त्वना हुनेले क्रमशः ६० हजार र ३० हजार रुपैयाँ पाउने उनले बताए ।
२ सय मिटरतर्फ विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउने कँडेलले बताए । प्रतियोगितामा सहभागी हुन १० टोलीले नाम दर्ता गरेको उनले बताए ।
अझै थपिने क्रम रहेको उनको भनाइ छ । प्रत्येक टोलीमा १५ जना खेलाडी सहभागी हुनेछन् भने १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोटरेस प्रतियोगिताका लागि चीनले यसअघि ८ वटा विशेष ड्रागन बोट पोखरालाई दिएको छ ।





